कपिलवस्तु । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब २५ लाख रुपियाँ बराबरको यौनवर्द्धक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्म कृष्णनगरले यौन उत्तेजना बढाउन प्रयोग हुने ‘युरिफिल इफेक्ट’ नामक औषधि बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार अङ्कित मूल्य नभएका ३३० प्याकेट औषधी बरामद गरिएको छ। प्रत्येक प्याकेटमा १५० वटा गोली रहेका छन्। भारतमा उत्पादित उक्त औषधी कृष्णनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा कृष्णनगर नगरपालिका–१, शिवनगर क्षेत्रमा काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उक्त औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद औषधी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको छ। नेपालमा उक्त औषधीको मूल्य प्रतिगोली ८० देखि १०० रुपियाँसम्म पर्ने बताइएको छ।
नेपालमा औषधी तथा शल्यचिकित्सा सामग्रीमा कर वृद्धि भएसँगै औषधीको मूल्य बढेको र त्यसकै कारण सीमावर्ती क्षेत्रबाट औषधीको चोरी–तस्करी तथा अवैध ओसारपसार बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।
यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी तथा जाँचलाई थप कडा बनाएको जनाएको छ।


