कपिलवस्तु फोटोग्राफर संघको रक्तदान, ८३ प्वाइन्ट रगत संकलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । १८७ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा कपिलवस्तु फोटोग्राफर संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, बाणगंगा शाखामा आयोजित खुला रक्तदान कार्यक्रममा ८३ प्वाइन्ट रगत संकलन भएको कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

फोटोग्राफी केवल दृश्य कैद गर्ने कला मात्रै नभई समाजसँग जोडिने माध्यमसमेत भएकाले विशेष दिनलाई सामाजिक सेवासँग जोडेर रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेले रक्तदानजस्तो मानवीय कार्यमा सहभागी भई अमूल्य योगदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो । संकटको समयमा आवश्यक पर्ने रगत अभाव हुन नदिन नियमित रक्तदान आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बाणगंगा शाखाका अध्यक्ष शंकर पाण्डे, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्वासे, बाणगंगा राइडर्स क्लबका अध्यक्ष विष्णु सापकोटा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम कडेल क्षेत्रीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, फोटोग्राफर तथा रक्तदाताहरूको सहभागिता रहेको थियो ।
फोटो खिच्ने पेशामा आबद्ध व्यक्तिहरूको संस्था भए पनि समाजप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै संघले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । रक्तदान कार्यक्रमले पनि त्यही सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको आयोजकको भनाइ छ ।

यसैबीच, कपिलवस्तु फोटोग्राफर संघले आफ्नो १५ औँ स्थापना दिवससमेत विशेष कार्यक्रमका साथ मनाउने भएको छ । स्थापना दिवसको अवसरमा आगामी भदौ ६ गते बिहान ७ बजेदेखि प्रभातफेरी तथा फोटो वाक कार्यक्रम आयोजना गरिने अध्यक्ष पाण्डेले जनहित अनलाइनलाई जानकारी दिनुभयो ।

कार्यक्रमको संयोजन कपिलवस्तु फोटोग्राफर संघका पूर्वअध्यक्ष रामचन्द्र बेल्वासेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *