जनहित अनलाईन, बाणगंगा । बाणगंगा नगरपालिकाको वडा नं . १, ३, ४ र ५ मा अवस्थित यस श्रृङ्गीघाट सामुदायिक वनले पछिल्ला बर्षमा विभिन्न उदाहरणीय काम गर्दै आएको छ । सोमबार २५६९ औं बुद्धजयन्तीको अवसर पार्दै चारनम्बर−तौलिहवा सडकखण्ड अन्तर्गत बाणगंगा नगरपालिका–४ गजेहडामा निर्माण गरिएका गौतम बुद्धको मुर्ति अनावरण र फायर हाईड्रेन्ट उद्घाटन गरिएको छ । उक्त उदाहरणीय कामबाट बाणगंगा नगरपालिका १, ३, ४ र ५ का उपभोक्ता सगैं सिंगो नगरवासीनै हर्षित भएका छन् ।

प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले २५६९ औं बुद्धजयन्तीको शुभकामना दिदैं गौतमबुद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै बढ्दै गएको बताउनुभयो । ‘गौतमबुद्धका सन्देशलाई हामीले प्रचारप्रसार गर्न सकिरहेका छैनौं । प्रचारप्रसारमार्फत विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले बाणगंगाका विद्यालयहरुमा आधारभूत तहसम्म स्थानीय पाठ्यक्रमका रुपमा ‘कपिलवस्तु र बौद्धदर्शन’ पुस्तकको विकास गरि पठनपाठनको व्यवस्था मिलाएको बताउनुभयो । श्रृङ्गीघाट सामुदायिक वनले विगत केही बर्षदेखि यस क्षेत्रमा उदाहरणीय काम गर्दै आएको भन्दै नगरप्रमुख अर्यालले खुशी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार र वनसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
वनले निर्माण गरेको मुर्ति र सडक सौन्दर्यीकरणले यस सडक क्षेत्रलाई अझ सुन्दर र स्वच्छ बनाउने बताउँदै उहाँले फायर हाईड्रेन्ट जडानले यस क्षेत्रमा हुने आगलागीका घटना नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले वनको स्रोत साधनलाई यस्तै उदाहरणीय काममा खर्चिन आग्रह गर्दै अन्य वनले समेत यसको सिको गर्न आवश्यक रहेको बताउनुभयो ।
वनका अध्यक्ष सुसिल सिंह ठकुरीले गत बर्ष वनले चारनम्बर सडक क्षेत्रमा बुद्धको मुर्ति निर्माण र सडक सौन्दर्यीकरणको काम गरेको स्मरण गराउँदै अहिले गजेहडा क्षेत्रमा उक्त कामलाई निरन्तरता दिएर सम्पन्न गरिएको बताउनुभयो । उहाँले बाणगंगाका सडक क्षेत्रलाई सुन्दर र सफा बनाउने अभियानमा आफुहरु लागेको बताउनुभयो । उहाँले चारनम्बर तौलिहवा सडकखण्डमा मुख्यतः आगलागीबाट हुने क्षति न्युनीकरण गर्न फायर हाईड्रेन्ट जडान गरेको स्पष्ट पार्नुभयो । गर्मीयाममा आगलागीका घटनाहरु बढ्ने र दमकलको विकल्पको रुपमा यसलाई प्रयोग गर्न सकिने उहाँको भनाई छ ।
यसका अतिरिक्त फायर हाईड्रेन्टलाई सडक क्षेत्रमा लगाईएका बोटविरुवामा सिंचाई गर्न, धुलो उडेको अवस्था सडकमा पानी चार्न जस्ता कामका लागि उपयोगी रहेको उहाँले बताउनुभयो । वन संरक्षण, सम्बद्र्धनसंगै श्रृङ्गीघाट सामुदायिक वनले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
बाणगंगाको विकास र समृद्धिमा वनहरुले महत्वपूर्ण योगदान दिनसक्ने उहाँको भनाई छ । उहाँले बाणगंगालाई सुन्दर, स्वच्छ र आकर्षक बनाउने अभियानमा सबलैलाई लाग्न आग्रह समेत गर्नुभयो ।
वनकी सचिव सुष्मा खाँणले वनको बार्षिक स्वीकृत कार्यक्रम अनुसार गजेहडा सडक क्षेत्रमा बुद्धको मुर्ति निर्माणसंगै सडक सौन्दर्यीकरण र फायर हाईड्रेन्ट जडानको काम गरिएको बताउनुभयो । उहाँले विपत व्यवस्थापनका लागि फायर हाईड्रेन्ट जडान गरिएको स्पष्ट पार्नुभयो । चारनम्बर सडक क्षेत्र र गजेहडा सडक क्षेत्रमा गरि जम्मा आठ ओटा फायर हाईड्रेन्ट जडान भएको उहाँले जानकारी दिनुभयो ।
सचिव सुष्मा खाँणको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सवडिभिजन कार्यालय मोतिपुरका प्रमुख अजाज अहमद अन्सारी, बाणगंगा भुपु सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहसहित वनका पदाधिकारी, स्थानीय समाजसेवी, उपभोक्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


