बुद्धभूमिमा सुरक्षित वैदेशिक रोजगारीका लागि अभिमुखीकरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बुद्धभूमी नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

बुद्धभूमी नगरपालिकाको आयोजना तथा सामी कार्यक्रमको प्राविधिक सहयोगमा रोजगार सेवा केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, विश्वासिलो र भरपर्दो बनाउन कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता तिलक बहादुर बस्नेतले विदेश रोजगारीमा जाँदा आवश्यक जानकारी र सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनले जानकारी बिना विदेश जाँदा जोखिम र समस्या बढ्ने भएकाले प्रविधिको प्रयोगमार्फत आवश्यक सूचना हासिल गर्न आग्रह गरे। साथै आगामी बजेट निर्माणमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे।

नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले बुद्धभूमी नगरपालिकाले विद्यालयस्तरमै सुरक्षित आप्रवासनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार दलालको भरमा विदेश जाने प्रवृत्ति बढेसँगै ठगी, अलपत्र पर्ने तथा अपेक्षित काम र पारिश्रमिक नपाउने समस्या देखिएकाले यस्तो कार्यक्रम आवश्यक भएको हो।

नगरपालिकाबाट हालसम्म ५ हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गइसकेका छन्। पर्याप्त जानकारी र सचेतना नहुँदा उनीहरू विभिन्न समस्यामा पर्ने गरेको चौधरीले बताए।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि, जाँदा र पुगेपछि अपनाउनुपर्ने प्रक्रिया, सीपमूलक तालिम, सूचना पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तथा न्यायमा पहुँचजस्ता विषयमा जानकारी दिइएको थियो।

सामी कार्यक्रमका जिल्ला संयोजक सुभाष रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी कानुनी प्रक्रिया, आवश्यक सावधानी र सुरक्षित आप्रवासनका उपायबारे सहभागीलाई जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *