दाङ । दाङ तुलसीपुरको खाद्रेमा खहरे खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलामा हिजो बेलुका आएको बाढीले अटो बगाउँदा खाद्रेकी ५६ बर्षीया सीता आले र सुर्खेत घर भई खाद्रे बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
तुलसीपुर बजारबाट खाद्रे गाउँका लागि छुटेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले बगाएको थियो । अटोमा आले र खड्कासहित चालक खाद्रे गाउँका हरिकिसन बिक, सुनिता थापा र उहाँका ७ बर्षीय छोरा सुशान्त आले रहेका थिए ।
चालक बिक, थापा र उहाँका छोरा बग्दै गर्दा उत्रन सफल भएका थिए । अटो चालकले बाढीको अवस्था अन्दाज गर्न नसक्दा अटो बगाएको प्रहरीको भनाइ छ । बेपत्ता सीता आले र मञ्जु खड्काको खोजी भइरहेको छ ।
त्यस्तै गएराति अर्को एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीका लागि छुटेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाई बाढीले बगाएको थियो । अटो चालक तुलसीपुर–७ पर्सेनीका २२ बर्षीय दुर्गाबहादुर पुनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ ।


