अर्घाखाँची । अर्घाखाँचीको डिभिजन वन कार्यालयले डढेलोको जोखिम घटाउन वन क्षेत्रमा पोखरी निर्माण गरेको छ । पालिका र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा पोखरी निर्माण अभियान शुरू गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिलेसम्म सन्धिखर्क नगरपालिकामा ३, भूमिकास्थान नगरपालिकामा ४ र पाणिनी गाउँपालिकामा २ गरी ९ वटा पोखरीको निर्माण सकिएको छ । शीतगङ्गा, मालारानी र छत्रदेव गाउँपालिकामा पनि निर्माण प्रक्रिया अघि बढिसकेको छ ।
सुक्खा मौसममा सल्लाका पात सजिलै सल्किने भएकाले यस्ता पोखरीले आगलागी भएको अवस्थामा तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने खड्काले बताउनुभयो । डढेलो नियन्त्रणसहित यी पोखरीले वन्यजन्तुका लागि पानी उपल्ब्ध तथा जैविक विविधता संरक्षणमा समेत भूमिका खेल्ने अपेक्षा छ ।

