कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्वाचन केन्द्रित समिति गठन गरेको छ ।
पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित तीनै क्षेत्रलाई समेटेर मूल समिति गठन गरिएको जिल्ला कार्य समितिले जनाएको छ ।
त्यसैगरी जिल्ला सभापति अब्दुल कलाम खाँको नेतृत्वमा जिल्ला निर्वाचन अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिमा प्रेमबहादुर रायमाझी, रवि काफ्ले, मोहम्मद वजिह अरसद र माया ज्ञवाली सदस्य रहेका छन् ।
यस्तै, उपसभापति हुमकान्त खनालको संयोजकत्वमा जिल्ला निर्वाचन समन्वय समिति गठन गरिएको छ । समितिमा रजतराज आचार्य, टेकबहादुर शाही, बिनोद नेपाल र रिना नेपाल सदस्य रहेका छन् ।
महाधिवेशन प्रतिनिधि प्रकाश घिमिरेको संयोजकत्वमा जिल्ला निर्वाचन भ्रातृसंस्था परिचालन समिति गठन गरिएको जनाइएको छ ।
त्यसैगरी नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खगप्रसाद चापागाईंको नेतृत्वमा गठन गरिएको सञ्चार डेस्क ले सञ्चार क्षेत्रसँग समन्वय र सहकार्य गर्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने जनाएको छ ।
नेपाली काँग्रेस कपिलवस्तुले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न समिति सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ ।




