कपिलवस्तु–१ मा कांग्रेसको चुनावी माहोल तिव्र, नेता तथा कार्यकर्ता उत्साहित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको चुनावी माहोल तीव्र बन्दै गएको छ। गाउँ–गाउँमा घरदैलो, भेटघाट तथा चुनावी अभियान सक्रिय बनेपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको देखिएको छ।

कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान सहितका नेताहरू यतिबेला विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। घरदैलो कार्यक्रममार्फत जनताका समस्या, सुझाव र अपेक्षा सुन्दै कांग्रेसका नेता तथा कार्यकर्ताले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

सो क्रममा उम्मेदवार कमालले कपिलवस्तु–१ मा कांग्रेसप्रति जनताको सकारात्मक माहोल देखिएको बताएका छन्। “जनताले परिवर्तन, विकास र स्थिर नेतृत्व चाहेका छन्। अहिले गाउँ–गाउँमा कांग्रेसप्रति देखिएको विश्वासले हामीलाई थप उत्साहित बनाएको छ,” उनले भने।

उनले जनताको भरोसालाई जितमा रूपान्तरण गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा जुटेको पनि बताए। कपिलवस्तु–१ मा कांग्रेसले विकास, सुशासन र जनसेवालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।

स्थानीय नेता तथा कार्यकर्ताले पनि अहिले गाउँ–टोलमा कांग्रेसप्रति सकारात्मक माहोल देखिएको दाबी गर्दै यसपटक कपिलवस्तु–१ मा पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका विभिन्न स्थानमा कांग्रेसको चुनावी गतिविधि झन् सक्रिय बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *