चेतन विष्ट, कपिलवस्तु । तिन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु बाट २ जना रास्वपाका र १ जना काङ्ग्रेसका प्रतिनिधिले संघिय संसद टेक्ने अवसर प्राप्त गरेका छन । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन मार्फत कपिलवस्तु १ बाट रास्वपाका मोहनलाल आचर्या, २ बाट रास्वपाकै बिक्रम सिंह थापा र ३ बाट नेपाली काङ्ग्रेसका अभिषेक प्रताप साहले उक्त अवसर प्राप्त गरेका हुन ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट जित हातपारेका शाहको यो चौथो संसदीय यात्रा हो । उनी यो भन्दा अगाडी २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले शाहले ४ हजार ६ सय ४५ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियालाई पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार, शाहले २३ हजार ५ सय ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रजौरियाले १८ हजार ८ सय ९० मत पाए ।
यता कपिलवस्तु १ भारि मतान्तरले विजयी भएका रास्वपाका मोहनलाल आचार्य भने कानुन विज्ञ मानिन्छन । आचार्य ३४ हजार १ सय ४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिसपर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, नेकपा एमालेका विश्राम प्रसाद चौधरीले ७ हजार ९८१ र नेकपाका कृष्णबहादुर कुँवरले ४ हजार ६१६ मत प्राप्त गरेका छन ।
त्यस्तै कपिलवस्तु क्षेत्र नं. २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन् । पुर्व एस.एस.पी. समेत रहेका थापाले ६ हजार १०८ मतान्तरले जित हात पारेका हुन । थापाले २७ हजार ६३५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार वृजेश कुमार गुप्ताले २० हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।

