लक्ष्मण सापकोटा, कपिलवस्तु । श्री कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड बाणगङ्गा २ कपिलवस्तुको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको कार्यालयमा सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि गिरिराज कँडेल को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा हुमकला पछाई, सचिवमा बुद्धिराम घिमिरे सह सचिवमा अनिशा खड्का र कोषाध्यक्षमा धनराज रेग्मी रहनुभएको छ भने सदस्यहरूमा क्रमशः नारायण कँडेल, पुष्कर घिमिरे, यम कुमारी महत, तिलकराम शर्मा, तुलसा थापा, शङ्कर बहादुर थापा रहनुभएको छ । नन्दराम पौडेलको संयोजकत्वमा जीवलाल घिमिरे र कमला भट्टराई लेखा समिति सदस्यमा निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले यस क्षेत्रका खासगरी १ र २ नं. वडाका कृषकको जीवन स्तरोन्नतिका निमित्त सहकारीले महत्वपूर्ण योगदान रहेको बताउनुभयो । बेलाबेला नगरपालिका एवं विभिन्न सङ्घ संस्थाको समन्वयमा दुग्ध डेरी सुधार कार्यक्रम, च्याउ तथा साना मेसिनरी औजार एवं घाँसको बिउ वितरण, किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, जेष्ठ सदस्यलाई सम्मान, कृषकलाई कृषि प्रविधि वितरण जस्ता महत्वपूर्ण काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि अर्यालले संस्थाको प्रशंसा समेत गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगङ्गा नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीले कृषक हरुप्रति देखाएको उत्तर दाई भूमिकाको उच्च प्रशंसा गर्दै सहकारीका हरेक गतिविधिहरूमा सुझाव सल्लाह एवं महत्वपूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा बाणगङ्गा नगरपालिकाका पशुसेवा शाखा प्रमुख राजकुमार तिवारी, मनकामना सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष मुक्त बहादुर कार्की, बाणगङ्गा मौरीपालन तथा मह उत्पादक संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरे, मनकामना सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष अमित पौडेल, बाणगङ्गा नगरपालिकाका कृषि विकास शाखा अधिकृत सन्तोष भुसाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।


कार्यक्रम संस्थाका अध्यक्ष खुमलाल शर्माको अध्यक्षता, उपाध्यक्ष पम्फा कँडेल को स्वागत मन्तव्य, एवं सचिव गिरीराज कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।




