रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि चौथोपटक अदालतमा उपस्थित गराउदै छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानलेलाई अदालतले दिएको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइन लागेको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई तथा रामबहादुर खनाललगायतमाथि यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धानका लागि २० कात्तिकमा १५ कात्तिकदेखि गणना हुने गरी १० दिनको समय दिएको थियो । उक्त समय सकिएकाले प्रहरीले पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउने भएको हो ।
पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई रुपन्देही लैजाने तयारी गरेको छ । रुपन्देहीमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
उता रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ । यही विषयलाई लिएर उसले सडक आन्दोलन गर्दै आएको छ ।

