बाणगंगा राइडर्स क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । संस्था दर्ता गर्ने तर गतिविधि शून्य रहने प्रवृत्तिमाथि प्रश्न उठिरहेका बेला वाणगंगा राइडर्स क्लब कपिलवस्तुले भने काममार्फत आफ्नो छुट्टै पहिचान बनाएको भन्दै प्रशंसा गरिएको छ। साइकललाई माध्यम बनाएर स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा सक्रिय क्लबको अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउन स्थानीय सरकार, निजी क्षेत्र र पर्यटन क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको हो।

शनिवार ठाकुरापुरमा सम्पन्न क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी वक्ताहरूले संस्था कागज र कार्यालयको सीमाभन्दा बाहिर निस्केर समुदायमा देखिने गरी काम गर्नुपर्ने धारणा राखे। क्लबले सञ्चालन गर्दै आएका साइकल अभियान तथा सामाजिक गतिविधिले संस्थाले आफ्नो उद्देश्यलाई व्यवहारमै उतारेको उनीहरूको भनाइ थियो।

कार्यक्रमकी प्रमुख अतिथि वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारूले क्लबका गतिविधि सकारात्मक र प्रभावकारी रहेको बताउँदै स्थानीय सरकारसँग सहकार्य गरेर अभियानलाई अझ विस्तार गर्न आग्रह गरिन्। सामाजिक क्षेत्रमा हुने सकारात्मक अभियानमा नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।

त्यस्तै, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले साइकल अभियानलाई केवल स्वास्थ्य र वातावरणको विषयमा सीमित नराखी स्थानीय पर्यटन तथा व्यवसायसँग जोड्नुपर्ने बताए। साइकलमार्फत कपिलवस्तुका पर्यटकीय तथा ग्रामीण क्षेत्रको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो।

इलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बाबुराम शर्माले वाणगंगा राइडर्स क्लबको सक्रियता र पारदर्शिता अन्य सामाजिक संस्थाका लागि समेत उदाहरण बन्न सक्ने बताए। संस्था दर्ता गरेर कागजमै सीमित राख्नेभन्दा समाजमा प्रत्यक्ष प्रभाव देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले क्लबले आफ्नो गतिविधिमार्फत त्यसको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।

अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबको वार्षिक कार्ययोजना, सांगठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

‘स्वस्थ जीवन, स्वस्थ पर्यावरण र पर्यटक प्रवद्र्धन’लाई मूल नाराका रूपमा अघि बढाएको क्लबले साइकलमार्फत स्वस्थ जीवनशैलीको विकाससँगै वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गर्दै आएको छ।

सभामा आगामी दिनमा क्लबका अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकार, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा अन्य संघसंस्थासँग सहकार्य विस्तार गर्नुपर्नेमा समेत जोड दिइएको थियो। यसले वाणगंगा राइडर्स क्लबको अभियानलाई व्यक्तिगत रुचिको साइकल यात्राबाट समुदायसँग जोडिएको सामाजिक अभियानका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *