काठमाडौं। नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेदेखि वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको हो ।
काउन्सिलका रजिष्ट्रार डा। सतीश कुमार देवले वेबसाइट ह्याक भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको जानकारी दिए । उनका अनुसार डेटा एक्स्ट्र्याक्सन भएको देखिए पनि कुनै सम्पादन वा परिवर्तन गरिएको प्रमाण भेटिएको छैन ।
“हाम्रो आईटी टिमले डेटा सुरक्षित रहेको पुष्टि गरिसकेको छ । रिकभरी प्रक्रिया पूरा भइसकेको छ । तर, पुरानो सर्भर पुनः प्रयोग गर्न नसकिने भएकाले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था आएको छ,” डा। देवले भने ।
काउन्सिलले ह्याकिङको अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । डा। देवका अनुसार फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्रै नयाँ सर्भरमार्फत सेवा सुरु गरिनेछ ।
उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया समेत जारी रहेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा केही फाइलहरू प्रभावित भएको देखिए पनि डेटा सम्पादन गरिएको प्रमाण भने फेला परेका छैनन् ।
“हाम्रो सिस्टमको डेटा अहिले पूर्ण रूपमा सुरक्षित छ । ह्याकरले केही डेटा निकालेका भए पनि सम्पादन गर्न सकेनन्,” डा। देवले स्पष्ट पारे ।साइबर ब्युरोले फोरेन्सिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।