काठमाण्डौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ ।
एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ जना खेलाडीको पुरिएर ज्यान गएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा हिजो बसेको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप रकम दिने निर्णय गरेको हो ।
बैठकले दिवङ्गत खेलाडीहरुको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ । घटनाबारे सत्यतथ्य विवरण सङ्कलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेस गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।