जनहित अनलाइन, कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं.१ मा(नेकपा)एमाले उम्मेद्वार विश्राम प्रसाद थारु चौधरी ले
“सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने प्रमुख उदेश्य रहेको बताउनु भएको छ । मायादेवी गाउँपालिकाका विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाटगर्दै उहाँले यस्तो बताउनु भएको हो। चौधरीले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना सहित अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले “राजमार्गदेखि गाउँसम्म दुई लेन सडक, जगदिशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि एम्बुलेन्स सेवा, स्वास्थ्य र शिक्षामा सुधार हाम्रो प्राथमिकता हो,” उहाँले बताउनुभयो।
यस्तै युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवद्र्धन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो। उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने उल्लेख गर्नुभयो।
मायादेवी गाउँपालिकाका स्थानीयवासीहरूले सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच र रोजगारी सिर्जनालाई प्रमुख चासोको विषयका रूपमा उठाएका थिए। त्यसको जवाफमा उम्मेद्वार थारुले संविधान र कानुनको दायराभित्र रहेर पारदर्शी, उत्तरदायी र जनमुखी ढंगले काम गर्ने विश्वास दिलाउनुभयो।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

