सिद्धार्थ क्याम्पसमा ‘प्रथम सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मा अवस्थित सिद्धार्थ क्याम्पसमा ‘प्रथम सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । होटल म्यानेज्मेन्ट (एच.एम) अध्ययनरत विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न खानाका परिकार र संस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

खाना महोत्सवमा विद्यार्थीहरूले परम्परागत पोसाकमा सजिएर विभिन्न परिकारका खाना, नृत्यसंगै गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको सिर्जनशीलता, सीप र आतिथ्यताले उपस्थित दर्शकको मन जितेको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष रवि बहादुर काफ्लेले विद्यार्थीहरूले तयार पारेका परिकार स्वादिष्ट र स्तरिय रहेको बताउदै यसले उनीहरूको दक्षता झल्किएको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।

त्यस्तै सञ्चालक समिति सदस्य नारायण प्रसाद भुषालले यस्ता कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख बेद्राम अर्यालले यस्ता कार्यक्रमले विद्यार्थीको व्यावहारिक सीप विकास गर्नुका साथै हाम्रो मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यार्थीलाई किताबी ज्ञान मात्र पुर्ण नहुने भन्दै यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान र सीप प्रवद्र्धनमा महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो ।

खाना महोत्सव संयोजक गोकर्ण न्यापानेले हामीले विद्यार्थीलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले विभिन्न परिकार आफैं तयार पार्ने अवसर दिएको बताउदै यसले शिक्षा संगै ब्यबहारिक ज्ञान समेत बद्धि हुने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा कक्षा ११ र १२ का कोडिनेटर राजकुमार अर्यालले यस्ता कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास लिएको बताउनुभयो ।

कक्षा ११ र १२ का कोडिनेटर राजकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थी चेतन बिष्ट र अर्चना आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक उपप्राध्यपक, कर्मचारी, जनप्रतिनिधि, अभिभावक, स्थानीय तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शैक्षिक अभ्याससँगै सांस्कृतिक संरक्षण र सीप विकासलाई जोड दिएको यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *