चेतन विष्ट, कपिलवस्तु । समाज रुपन्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरि चौतर्फी चर्चा कमाएको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले पुन अर्को उत्कृष्ट कार्य गरेको छ । वनले बुधवार देखि सामुदायिक विद्यालयका गरिबी तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सुरु गरेको छ । वनको आर्थिक वर्ष २०८०÷८१ को वाषिर्क स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको हो ।
वनले बुधवार वडा नम्बर ५ मा रहेको श्री मधौलिया बाल बिकास केन्द्र र वडा नम्बर ३ मा रहेको श्री सरस्वती आधारभुत विद्यालयालाई एकै दिन शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी, ज्यामिती बाकस, पेन्सील लगायत विभिन्न सामाग्री वितरण गरेको हो ।


वडा नम्बर ५ मा रहेको कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका भुसालले सामुदायिक वनले अभियानकै रुपमा विकास निर्माणका कार्य सङ्गै स्वास्थ्य र शिक्षामा चालेका कदमहरुको समाजले पनि उचित मुल्यांकन गरेको बताउनुभयो । यश क्षेत्रमा कयौं सामुदायिक वनहरु भएपनी श्रीङ्गिघाट वनले ल्याएका यस्ता अनुकरणीय योजनाहरु अन्य वनहरुले पनि सिको गर्न आवश्यक रहेको बताउनुभयो ।


त्यस्तै समाजसेवि झविलाल पोख्रेलले पछिल्लो समय केही वनहरु आर्थिक घोटालामा परिरहेको यस्तो समयमा श्रीङ्गिघाट सामुदायिक वनले गरेको यस्तो कार्य निक्कै अनुकरणीय रहेको बताउदै वनले गरेको कार्यक्रम समेत प्रशंसा गर्नु भयो ।
कार्यक्रममा बाल बिकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राम औतार थारु, टोल विकासका अध्यक्ष कासिराम खनाल समाजसेवी, लागायतले बोल्नु भएको थियो ।
यता सरस्वती आधारभुत विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा सदस्य चन्द्रवती थारुले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम निक्कै उदाहरणिय रहेको बताउनुभयो । वनले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा पनि वनले यस्ता कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाँटि मौजा संयोजक विक्रम थारु, वनका लेखा समिति संयोजक, कृष्ण पसाद्र पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप चौधरि, समाजेवि सन्तराम थारु, प्र.अ कमला पोख्रेल लागयतले बोल्दै शिक्षा क्षेत्रमा गरेको यस्तो कामले बालबालिकाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।
श्रृङ्गिघाट सामुदायिक वनमा बाणगङ्गा नगरका १,३,४,र ५ वडाहरु पर्दछन् । वन भित्र पर्ने ७ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिने वन उपभोक्ता समुहकी सचिव खमला खाण (सुस्मा) ले जानकारी गराउनुभयो ।


गणेश बहादुर सिह ठकुरीको अध्यक्षता, उपाध्यक्ष बुद्ध बाहादुर शाहिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सुस्मा खाणले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी सल्लाकार विभिन्न संघ संस्थामा आवद्ध ,संचारकर्मि लगायतको उपस्थिति रहेको थियो । वनले यो भन्दा अगाडी वनको १४ मौजामा अति विपन्न परिवारलाई स्वास्थ्य विमामा समोबेश गरेको थियो ।







