शिवराज नगरपालिकाः नीति, बजेट र कानुनी संरचनालाई प्रभावकारी बनाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय सरकारको नीति, बजेट र कानुनी संरचनालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । कार्यलाई प्रभावकारी बनाउ नगरको १८औँ हिउँदे नगरसभाबाट विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै प्रभावकारी बनाउने भएको हो ।

नगरसभाले आर्थिक तथा प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । चालू आर्थिक वर्षका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको नगरपालिकाले जनाएको छ ।

हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२, विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ तथा व्यवसाय सञ्चालन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको हो । नगरपालिकाका अनुसार यी संशोधनहरूले राजस्व संकलन, बजेट कार्यान्वयन र स्थानीय व्यवसाय सञ्चालनलाई अझ व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

सभामा आर्थिक तथा विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारूले प्रस्तुत गरेकी थिइन् । विधेयकहरू नगरपालिकाको वित्तीय अनुशासन कायम राख्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरिन् । यस्तै, विभिन्न ऐनसम्बन्धी विधेयकहरू विधेयक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताए । नगरसभाबाट पारित नीति तथा कार्यक्रम कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे । “नीति र कार्यक्रमको पूर्ण कार्यान्वयन भए मात्र नगरको समग्र विकास सम्भव हुन्छ”- उनले भने ।

नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले हिउँदे नगरसभामा प्रस्तुत भएका विधेयक, एजेण्डा तथा निर्णयहरूबारे जानकारी गराउँदै नगरपालिकाले कानुनी र प्रशासनिक प्रक्रियालाई समयानुकूल परिमार्जन गर्दै अघि बढिरहेको बताए ।

स्थानीय तहको नीति निर्माण र कार्यान्वयनको महत्वपूर्ण मञ्चका रूपमा रहेको हिउँदे नगरसभाबाट पारित निर्णयहरूले शिवराज नगरपालिकाको आर्थिक व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने स्थानीयले अपेक्षा गरेका छन् ।

नगरसभा अवधिभर जनप्रतिनिधिहरूले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *