रौतहटको गौर घटनामा वडाध्यक्षसहित २३ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबिच भएको झडपको क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका ६ सबगढाका वडाध्यक्ष अवधविहारी साह र पूर्व वडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसेदसहित २३ जना रहेका छन्।

गत बिहीबार सबगढा गाउँमा विवाहको डिजे बजाउने क्रममा दुई समुदायबिच वादविवाद हुँदा उग्र रूप लिएको थियो।

दुई समुदायबिचको तनाव एवं झडप मत्थर नभएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो कर्फ्यु लगाउँदै नेपाली सेना परिचालनसमेत गरेको थियो। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले यतिबेला गौर बजार मात्र होइन, पूरै मधेसलाई निगरानीमा राखेको छ।

गौरको उक्त घटनाले सिंगो मधेस प्रदेशको सुरक्षामाथि प्रश्न उठाएको छ। साथै यो घटनामा खेलेर निर्वाचन बिथोल्न सक्ने शक्तिहरू सल्बलाउने संकेत पनि देखिएको जिल्ला प्रशासनले जनाएको छ।

खासगरी मधेसमा हिन्दु समुदायले ‘जय श्रीराम’को नारा लगाउने र मुस्लिमहरूले ‘नारा ए तक्बिर’को आवाज घन्काउने गर्दा झडप हुने अवस्थाले गौर अशान्त बनेको हो। अर्को समुदायलाई उत्तेजित गराउन या उक्साउन लगाइएका नाराले झडपको परिस्थिति निम्तिनाले बिहीबार रातिदेखि गौर अशान्त बनिरहेको हो।

शनिबार कर्फ्यु आदेश जारी गरेपछि पनि गौर बजार अशान्त नै देखियो। गौर बजार अहिले शान्त देखिएको छ। सडक र विद्यालयहरू बन्द छन्। मानिसहरू हिँडडुल गर्न खोजेका छैनन् भने उम्मेदवारहरू पनि मत माग्न जानबाट वञ्चित भएका छन्।

गत बिहीबार राती देखि अशान्त बनेको गौर नगरपालिकालाई शान्त पार्न जिल्ला प्रशासन कार्यालय गौरमा पुनः वार्ता भइरहेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको रोहबरमा शुक्रवार बेलुकी ६ बुँदे सहमति भएको थियो तर त्यो सहमति उल्लघंन  गर्दै शनिवार बिहानै देखि तोडफोड र आगजनीमा दुवै समुदाय उत्रिएको थियो।

स्थानीय प्रशासनले शनिवार दिउँसो देखि अर्को आदेश नहुन्जेल सम्मका लागि कर्फ्यु जारी गरेका छन्। आइतबार बिहान देखि नै जिल्लाका दुवै समुदायका अगुवा, स्थानीय राजनीति दल तथा सुरक्षा निकायको रोहबरमा वार्ता जारी रहेको डिएसपी बस्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *