कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कपिलवस्तुको पहिलो बैठकले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले आगामी निर्वाचन तथा संगठनात्मक गतिविधि प्रभावकारी बनाउन क्षेत्रगत रूपमा समिति गठन गरिएको जनाएको छ ।
निर्णयअनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा सो क्षेत्रअन्तर्गतका केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू साथै क्षेत्रीय, प्रदेश, नगर तथा गाउँ कार्यसमितिका अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको छ ।
राप्रपाले कपिलवस्तु क्षेत्र नं.१ मा शत्रुधन विलाश सिंह कुर्मीलाई चुनावी मैदानमा उतारेको छ ।
क्षेत्र नं. १ को कमाण्ड समालेका संयोजक रायमाझीले समिति गठनसँगै अब पार्टीको निर्वाचन तयारीलाई व्यवस्थित रूपमा अघि बढाइने बताउनुभयो । “निर्वाचन परिचालन समिति गठनसँगै अब हामी संगठनलाई अझ मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष संवादमा जानेछौं । पार्टीका एजेन्डा गाउँ–गाउँसम्म पु¥याएर राप्रपालाई कपिलवस्तुमा थप सशक्त बनाउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
यस्तै, कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा लुम्बिनी प्रदेश कोषाध्यक्ष कृष्ण पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी तथा सदस्यहरू, जिल्ला उपाध्यक्षहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा क्षेत्रीय÷प्रदेश÷नगर÷गाउँ कार्यसमितिका अध्यक्षहरू सदस्य रहने निर्णय गरिएको छ ।
त्यसैगरी, कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य अजय थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेश पदाधिकारी तथा सदस्यहरू, जिल्ला उपाध्यक्षहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा क्षेत्रीय, प्रदेश, नगर र गाउँ कार्यसमितिका अध्यक्षहरू सदस्य रहनेछन् ।
यसैबीच, पार्टीले जिल्ला अध्यक्ष नारायणबहादुर सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सदस्य रहने गरी निर्वाचन अनुगमन समिति समेत गठन गरेको जनाएको छ ।
पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा परिचालन समिति गठनसँगै संगठन विस्तार, जनसम्पर्क तथा निर्वाचन तयारीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।


