कपिलबस्तु । कपिलबस्तको बाणगंगा–८, स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दिपक कुमार साप्कोटा निर्वाचित हुनुभएको छ। वनको ९ औं अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा साप्कोटाले अनिता थापा, शालिकराम भुसाल र जनक पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो।
निर्वाचित साप्कोटाले ४ सय मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता थापाले २ सय ४५, शालिकराम भुसालले १ सय ४३ र जनक पौडेलले १७ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ।
त्यसैगरी, उपाध्यक्षमा अमर कंडेल ४ सय ३४ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मधु अर्यालले ३ सय १५ मत प्राप्त गर्नुभएको छ।
सचिवमा देवकला सुनार निर्वाचित हुनुभएको छ। उहाँले २ सय ४७ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी घनश्याम पौडेलले २ सय ४६, रेखा मल्लले २ सय २ र कमला कुमारी शर्माले ८४ मत प्राप्त गर्नुभएको थियो।
कोषाध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।
सह–सचिवमा गिर बहादुर पौडेल निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक राधेश्याम न्यौपानेले साझा डायरी अनलाइनलाई जानकारी दिनुभयो।उक्त निर्वाचनमा जम्मा ८ सय ६८ मत खसेको बताइएको छ।
सपथग्रहण कार्यक्रमका प्रमुख अतिथि तथा सब–डिभिजन वनका वरिष्ठ वन अधिकृत एजाज अहमद अंसारीले वनको नेतृत्व जिम्मेवारी र पारदर्शिताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो।
सपथग्रहण कार्यक्रममा विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका सदस्य सारदा परियारले महिलाको नेतृत्व भूमिकालाई अझ सशक्त बनाउन सामुदायिक वनले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
निवर्तमान अध्यक्ष शान्तविक्रम पौडेलले नयाँ नेतृत्वले वनको विकास, संरक्षण र उपभोक्ताको हितमा उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।
निर्वाचित अध्यक्ष दिपक कुमार साप्कोटाले वनको समुन्नति र पारदर्शी व्यवस्थापनका लागि आफ्नो कार्यकाल समर्पित रहने प्रतिवद्धता जनाउनुभयो।कार्यक्रम निर्वाचन मण्डलका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षता र सचिव चक्र भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।