कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेद्धवार आशिष शर्माको चुनावी अभियानले तीव्र गति लिँदै निर्णायक मोड लिएको छ। दलगत राजनीति, वर्षौंदेखिका अधुरा आश्वासन र जनअपेक्षाको बेवास्ताबाट आजित मतदाताहरूको भरोसा एकाएक शर्मा तर्फ केन्द्रित हुन थालेपछि क्षेत्रको चुनावी समीकरण नै बदलिन थालेको देखिन्छ।
वाणगंगा नगरपालिका–८ मा सम्पन्न घरदैलो अभियानले यो परिवर्तनलाई अझ प्रष्ट पारेको छ। सयौँको संख्यामा स्थानीयको उत्साहपूर्ण उपस्थिति रहेको उक्त अभियानमा मतदाताहरूले खुलेआम “हामी प्रत्यक्षमा जिपमै मतदान गर्छौँ” भन्दै आफ्नो समर्थन सार्वजनिक गरेका छन्।
स्थानीय मतदाताहरू भन्छन्, “देशभरि वाले–वालेन भन्ने हावा चले पनि हाम्रो क्षेत्रको वास्तविक विकासका लागि आशिष शर्मा जस्ता सक्षम, पढेलेखे र अनुभव भएका युवाको खाँचो छ।” उनीहरूका अनुसार यसपटक दल होइन, परिणाम दिने नेतृत्व रोज्ने निर्णय भइसकेको छ।
एमबीए सम्मको शैक्षिक योग्यता, ठूला कर्पोरेट संस्था, बैंक, बीमा तथा जलविद्युत् कम्पनीमा नेतृत्वदायी भूमिका निभाइसकेका शर्मा केवल भाषण गर्ने नेता नभई योजना बनाउने र कार्यान्वयन गर्ने क्षमता भएका उम्मेद्धवार भएको मतदाताको बुझाइ छ। कपिलवस्तुमा कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारिकरण, युवालाई स्वरोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले अघिल्लो समयदेखि गर्दै आएको योगदानले समेत जनविश्वास थप मजबुत बनाएको देखिन्छ।
घरदैलोका क्रममा शर्माले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आगामी फागुन २१ गते हुने आम निर्वाचनमा जिप चिन्हमा मतदान गर्न आग्रह गरे। उनले भने, “मतदानका दिन मात्र होइन, यहाँका नागरिकको हरेक दुःख–सुखमा सधैँ साथमा रहनेछु। कपिलवस्तुको हरेक टोल, हरेक बस्तीको विकास मेरो पहिलो प्राथमिकता हो।”
वाणगंगा–८ मा देखिएको जनउत्साह, मतदाताको स्पष्ट धारणा र स्वतन्त्र उम्मेद्धवार आशिष शर्माप्रतिको बढ्दो भरोसाले कपिलवस्तु–१ मा शर्माको जित अब सम्भावनामा सीमित नभई सुनिश्चिततर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। चुनाव नजिकिँदै जाँदा शर्मा केन्द्रित लहरले अन्य उम्मेद्धवारहरूलाई समेत दबाबमा पारेको प्रष्ट देखिन्छ।


