कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार शत्रुधन विलास कुर्मी चौधरीको प्रचार–प्रसार समितिले विभिन्न स्थानमा सम्पर्क कार्यालयहरू उद्घाटन गरेको छ।
प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वाणगंगा नगरपालिका–१० को मेचकुरी, कपिलवस्तु नगरपालिका–९ को जगदीशपुर तथा कपिलवस्तु नगरपालिका वडा नं. ११ को जहदीमा सम्पर्क कार्यालय स्थापना तथा उद्घाटन गरिएको हो।
उक्त अवसरमा स्थानीयस्तरमा राजनीतिक गतिविधिमा सक्रिय रहेका सुव्बा थारु लगायतको समूह राप्रपामा प्रवेश गरेको प्रचार–प्रसार समितिले जनाएको छ। पार्टी प्रवेश गर्ने समूहलाई कार्यक्रमका क्रममा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शत्रुधन विलास सिंह कुर्मीले आफूले चुनावी प्रचारका क्रममा जनतासँग भेटघाट गर्दा र मत माग्दा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार मतदाताहरूले अब धर्म–संस्कृति जोगाउने, राज्य संस्था पुनःस्थापना गर्ने तथा राष्ट्र बचाउने शक्तिलाई नै मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।

“जनताले अब देशको पहिचान, धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व जोगाउन सक्ने दललाई मत दिने बताएका छन्,” उम्मेदवार कुर्मीचौधरीले भन्नुभयो, “राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्ने जनमत बढ्दो छ, त्यसैले हाम्रो जित सुनिश्चित हुँदै गएको देखिन्छ।”
कार्यक्रमका प्रमुख अतिथि तथा राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले पनि राप्रपाको अभियान जनताको विश्वाससहित अघि बढिरहेको बताउनुभयो। उहाँले देशको वर्तमान अवस्था सुधार्न राप्रपाको वैकल्पिक राजनीतिक धार आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई हलो चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।


रायमाझीले भन्नुभयो, “देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी, अस्थिरता र राष्ट्रिय पहिचानमाथिको चुनौतीलाई अन्त्य गर्न राप्रपा नै सशक्त विकल्प हो। जनताको भावना बुझेर पार्टी अघि बढिरहेको छ र अब परिवर्तनको लहर राप्रपातर्फ फर्किएको छ।”
सम्पर्क कार्यालय उद्घाटनसँगै अब प्रचार–प्रसार अभियान थप व्यवस्थित र तीव्र रूपमा सञ्चालन हुने प्रचार–प्रसार समितिले जनाएको छ।




