नेपालगन्ज। बाँकेको खजुरास्थित पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निष्क्रिय बनाएको छ ।
नेपालगन्ज गुलरिया हुलाकी सडकअन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहानै शङ्कास्पद रूपमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रूपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको प्रहरीले घटनास्थललाई घेरेर सो राजमार्गमा आवागमन बन्द गराई बिहानैबाट अनुसन्धान सुरु गरी नेपाली सेनालाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।
उहाँले त्यो कुकर स्थानीयलाई तर्साउन राखिएको हुनसक्ने जनाउँदै त्यसलाई हुक भनिने पनि बताउनुभयो ।
नेपाली सेनाले घटनास्थललाई नियन्त्रणमा लिएर सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद कुकरलाई पड्काएर निष्क्रिय बनाएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी लिएको सामाग्री फेला परेको छैन ।
नेपाली सेनाको टोलीले उक्त कुकरलाई डिस्पोज गरेपछि हुलाकी राजमार्गको आवागमन खुला गरिएको पनि प्रहरीले जनाएको छ । यसअघि नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई केही घण्टाका लागि वैकल्पिक मार्गबाट सञ्चालन गराइएको थियो ।


