अर्घाखाँची । शितगंगा नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी कर कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएपछि शितगंगाले उक्त सेवा औपचारिक रूपमा सुरु गरेको हो।
उद्घाटन समारोहकै क्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र महानिर्देशक दहालबीच कार्यसम्झौता आदान–प्रदान गरि सेवा सुभारम्भ गरिएको थियो। सम्झौतापछि नगरपालिकाबाट औपचारिक रूपमा करदाता सेवा प्रवाह सुरु गरिएको हो ।
सेवा शुभारम्भको अवसरमा स्थानीय व्यवसायी कृष्ण पौडेललाई नास्ता पसल सञ्चालनका लागि प्यान नम्बर प्रदान गर्दै पहिलो सेवा प्रवाह गरिएको थियो। अब प्यान दर्ता, नवीकरण लगायतका आधारभूत करसम्बन्धी सेवा नगरपालिकाबाटै उपलब्ध हुने भए पछि नगरबासीलाइ सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवा का कर अधिकृत प्रेमराज पोख्रेलले लुम्बिनी प्रदेशमै पहिलोपटक स्थानीय तहबाट सेवा सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै खुशी व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारसँगको सहकार्यले कर प्रशासनलाई थप प्रभावकारी र सेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।
महानिर्देशक मदन दहालले संघीयताको कार्यान्वयन हालसम्म वित्तीय व्यवस्थापनमा सीमित जस्तो देखिए पनि अब प्रशासनिक कार्यान्वयनतर्फ समेत अघि बढेको बताउनुभयो। स्थानीय तहबाटै करदाता सेवा सुरु हुनु संघीय शासन प्रणालीको सुदृढीकरणतर्फ महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै उहाँले नगरपालिकामै सेवा उपलब्ध हुँदा करको दायरा विस्तार हुने र राजस्व संकलनमा वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संघीय सरकारको निर्णय र कार्यविधिअनुसार आवश्यक पूर्वतयारी पूरा गरी सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय सेवाग्राहीलाई सहज, छिटो, पारदर्शी र प्रभावकारी सेवा दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
नगर उपप्रमुख गीता भाटले करदाता सेवा स्थानीय स्तरमै सुरु हुनु नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले व्यवसाय दर्ता तथा करसम्बन्धी प्रक्रिया सरल र सहज बनाउने धारणा राख्नुभयो। उहाँले यस कदमले स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
वडा अध्यक्ष भिम केसीले अब सामान्य करसम्बन्धी सेवाका लागि बाहिर धाउनुपर्ने अवस्था अन्त्य भएको बताउँदै सरकारप्रति जनविश्वास अझ सुदृढ हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवा र कृष्णनगरका प्रतिनिधि, उद्योग वाणिज्य संघ, बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि, यातायात व्यवसायी संघ, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

