चेतन विष्ट, कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बाणगंगा नगरपालिका वडा नम्बर २ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागि नागरिकहरुले क्षेत्रफल धेरै भएको तर सो अनुरुप प्रहरीको सङ्ख्या नरहेको, मुद्दा मामिलामा राजनैतिक पक्षपात हावी भएको, सवारीसाधनमा क्षमता भन्दा अधिक चाप रहदा समेत प्रहरीले उचित कदम चाल्न नसकेको, ड्युटी गर्ने प्रहरी पोष्ट निक्कै कमसल रहेको, सडक दुर्घटना अत्याधिक बढेको, विद्युतीय तार तथा पोलमा समस्या रहेको लगायत विभिन्न प्रश्न तथा गुनासाहरु राखेका थिए ।
कार्यक्रममा सहभागी बाट आएका गुनासा तथा प्रश्नहरुको सम्बोधन गर्दै बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले समग्र शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागी प्रहरी र नागरिक एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष पौडेलले सवारी दुर्घटना न्युनिकरण, लागुऔसध नियन्त्रण, नदिजन्य तथा काठजन्य वस्तुहरुको चोरी तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्नमा समेत नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालय पिपरा मिलेर रचनात्मक कार्यक्रमहरु गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै नागरिकहरु बाट आएका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र बहादुर जि.सी. ले बाणगंगा लागुऔसध दुव्र्यसनीको हब रहेको भन्दै अझै पनि हल्ला चलाइने भन्दै अहिले विगतको जस्तो अवस्था नरहेको बताउनुभयो । हरेक वर्ष लागुऔषधको दुव्र्यसनी र ओसारपसारको आंकडा निरन्तर घटिरहेको उहाँले बताउनुभयो । बाणगङ्गामा मात्र नभएर सिङ्गो जिल्लामै सडक अनुसार ट्राफिक प्रहरीको सङ्ख्या अत्यन्तै कमी रहेको स्वीकार गर्दै सडक दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै नदिजन्य पदार्थको चोरी तस्करीमा प्रहरीकै मिलेमतो छ भन्ने कुरा निक्कै गलत रहेको भन्दै चोरी तस्करी न्यूनीकरण गर्न स्थानीय नै सचेत र इमानदार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सीमित श्रोत साधनका कारण टोल टोलमा नेपाल प्रहरी भनेजस्तो सुविधा दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो ।
स्थनीय, विभिन्न संघसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थितीमा भएको कार्यक्रम इलाका प्रहरी कार्यलाई पिपराका प्रमुख लोकेन्द्र बहादुर जि.सी. को अध्यक्षता, सामुदायिक प्रहरी शाखा प्रमुख कृष्ण प्रसाद खनालको स्वागत तथा प्रहरी हवल्दार ईश्वरी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।