कपिलवस्तु । समाचार प्रशारणको क्रममा सामुदायिक रेडियो प्रसारक संघ, लुम्बिनी प्रदेशका सचिव गणेश पोखरेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको भन्दै सो घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि समाचारप्रति गुनासो भएमा त्यसको समाधान कानुनी वा प्रचलित विधिअनुसार खोजिनुपर्ने उल्लेख गर्दै पत्रकारलाई धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदम भएको स्पष्ट पारेको छ।
सामुदायिक रेडियो प्रसारक संघले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। संघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि हुने यस्ता गतिविधि स्वीकार्य नहुने भन्दै सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह अकोरावका लुम्बिनी प्रदेश अध्यक्ष नविन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले अनलाइन समाचारका आधारमा युनियन उपाध्यक्षमाथि सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै आपत्ति जनाएको छ। कपिलवस्तु प्रेस युनियनले पत्रकारमाथि हुने धम्की र दबाबलाई प्रेस स्वतन्त्रताविरुद्धको कार्य भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको सचिव अंकुश कुमार श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


घटना विवरण यस्तो थियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका संगठन विभाग प्रमुख रिखिराम भट्टराईले पार्टीको नीति–नियम विपरीत अभिव्यक्ति दिएको र सामाजिक सञ्जाल मार्फत पार्टीको नाम दुरुपयोग गरेको भन्दै पार्टीले स्पष्टीकरण सोधेको विषयलाई लिएर विवाद चर्किएको हो ।
उक्त विषयमा रास्वपा कपिलवस्तुका सभापति शिवकुमार सुवेदी सहित पार्टीका नेतामाथि गाली गरेको अडियो सार्वजनिक भए पछि घटनाले थप उग्र रूप लिएको हो । सो अडियो हाम्रो पाईला अनलाइनले प्रकाशन गरेको थियो।
हाम्रो पाईला अनलाइनका प्रधान सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव, नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उप–सभापति तथा सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेलले उक्त अडियो अनलाइनबाट प्रशारण गरेका थिए । पत्रकार पोख्रेलले चरित्र हत्या भएको विषयलाई लिएर कानुनी उपचारमा जाने बताएका छन् ।
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले साधेको स्पस्टीकरण




