कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु( १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तुको क्षेत्र न १ को दक्षिण देखि उत्तरसम्म काङ्ग्रेसको लहर रहेको बताएका छन्।
आज कपिलवस्तुको वाणगंगाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर गरे। उनले अन्य दलले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबीसमेत गरे।
कमालले आफू यस क्षेत्रको सामाजिक रूपान्तरण र विकास निर्माणका विषयमा जानकार रहेको उल्लेख गर्दै केन्द्रिय नेतृत्वले देखाएको साहसका आधारमा ‘अबकी बार सय पार’ नारा साकार हुने विश्वास व्यक्त गरे। उनले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० सिट जित्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बन्ने तथा कपिलवस्तुका तीनै सिट कांग्रेसले जित्ने बताएका छन्।
स्वतन्त्र रूपमा संविधानसभा सदस्य निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको प्रस्ताव गरे पनि पार्टी नछाडेको उल्लेख गर्दै उनले अहिले कांग्रेसबाट उम्मेदवार बन्न पाउँदा गर्व लागेको बताए।
बाणगंगा नगरपालिका–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिको आधुनिकीकरणमार्फत उत्पादनदेखि बजारीकरणसम्मका कामलाई प्राथमिकता दिँदै स्वरोजगार वृद्धि गर्ने लक्ष्य लिएको बताएका छन्।


