कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै अतहर कमाल मुसलमान ले नेपाली कांग्रेस जितको दिशामा अग्रसर रहेको दाबी गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले पार्टीप्रति जनताको उत्साह र समर्थन उल्लेखनीय रहेको बताएका हुन्।
उनले भने, “कपिलवस्तु–१ मा कांग्रेसप्रति जनविश्वास बढ्दो छ। विकास, सुशासन र पारदर्शिताका एजेन्डाका कारण हामी जितको दिशामा अघि बढेका छौं। अब यसलाई थप मजबुत बनाउने जिम्मेवारी सम्पूर्ण मतदाताको हो।”
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी तथा कृषि क्षेत्रका समस्या उठाएको बताउँदै कमालले ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। “जनताको चाहना र आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो,” उनले भने।
उनका अनुसार पछिल्ला दिनमा विभिन्न टोल तथा बस्तीमा भइरहेको भेटघाट कार्यक्रमले चुनावी माहोल थप उत्साहित बनाएको छ। युवादेखि ज्येष्ठ नागरिकसम्मको साथ र समर्थनले कांग्रेसलाई बलियो आधार दिएको उनले दाबी गरे।
निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू घरदैलो तथा छलफल कार्यक्रममार्फत मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन्।


