जनहित अनलाईन, कपिलवस्तु । चिसोसँगै छालामा समस्या आएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढेको छ । जाडो बढेसँगै बहिरङ्ग सेवामा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेका वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्राध्यापक डा। अनुपमा कार्कीले बताउनुभयो ।
यस्तै जाडोका कारण छालामा रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या धेरै देखिने गरेको उहाँले बताउनुभयो । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उहाँको भनाइ छ । जाडोमा लुतोको समस्या पनि उत्तिकै हुन्छ । प्रायः मान्छे जाडोमा कम नुहाउने, लुगा फेर्न अल्छी गर्ने, समय–समयमा सिरक, डसना घाममा नसुकाउने लगायतका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो ।
निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा। प्रज्जवल पुडासैनी जाडो मौसममा हावामा आद्रता कम हुने भएकाले छाला बढी सुक्खा हुने र यसैका कारण समस्या आउने बताउनुहुन्छ । जाडोमा एलर्जीको समस्या पनि बढी देखिने उहाँको भनाइ छ ।
जाडोमा पर्याप्त पानी पिउने, फलफुल र हरियो तरकारी पर्याप्त खाने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने र सुख्खा छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन लगाउने गरेमा समस्या कम हुने डा। अनुपमा कार्कीले बताउनुभयो ।