कार्यसम्पादनमा जिल्लामै पहिलो बन्यो बाणगंगा नगरपालिका

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० स्थानीय तहहरूमध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बाणगंगाले ७४.३० अङ्क हासिल गर्दै जिल्लामै उत्कृष्ट प्रदर्शन गरेको हो।

जिल्लाको दोस्रो स्थानमा महाराजगञ्ज नगरपालिका परेको छ। महाराजगञ्जले ६७.८० अङ्क प्राप्त गरेको आयोगले जनाएको छ।

देशभरका ७५३ स्थानीय तहमध्ये कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका देखिएको छ। उक्त नगरपालिकाले ३०.९१ अङ्क मात्र प्राप्त गरेको छ। मूल्याङ्कन विवरणअनुसार मधेश प्रदेशका अधिकांश पालिकाको प्रदर्शन तुलनात्मक रूपमा कमजोर देखिएको छ।

यस्तै, देशका ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित सबैभन्दा उत्कृष्ट ठहरिएको छ। संघीय राजधानी काठमाडौँ महानगरपालिका भने ४४.९७ अङ्कसहित सबैभन्दा कमजोर महानगरका रूपमा देखिएको छ।

ललितपुर महानगरपालिका ७६.३३ अङ्कसहित दोस्रो स्थानमा रहँदा भरतपुर महानगरपालिका ६८.०४ अङ्कसहित तेस्रो स्थानमा परेको छ। पोखरा महानगरपालिका ५८.०४ अङ्कसहित चौथो र वीरगञ्ज महानगरपालिका ५४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ।

आयोगले बजेट तर्जुमा तथा कार्यान्वयन, आन्तरिक राजस्व परिचालन, लेखापरीक्षण स्थिति, शिक्षा, स्वास्थ्य, सुशासनलगायत १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *