कपिलवस्तुमा ६ महिनामा ३९ नयाँ कुष्ठरोगी फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । पछिल्लो छ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उक्त संख्यामा नयाँ कुष्ठरोगी पहिचान भएका हुन्।

ढकालका अनुसार सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा ११ जना कुष्ठरोगी फेला परेका छन्। नयाँ ३९ जना बिरामी थपिएसँगै चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा कुष्ठरोगीको कुल संख्या १६७ पुगेको छ। हाल पहिचान भएका सबै ३९ जनाको उपचार नियमित रूपमा भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख ढकालले रोगको वर्तमान अवस्थाबारे जानकारी गराउँदै गत आर्थिक वर्षमा कपिलवस्तुमा १८८ जना कुष्ठरोगी फेला परेको तथ्यांक प्रस्तुत गर्नुभयो।

सरकारले १६ वर्षअघि नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरे पनि कपिलवस्तु लगायत केही जिल्लामा अझै पनि कुष्ठरोगीको समस्या कायमै रहेको ढकालले बताउनुभयो। विगतको तुलनामा बिरामीको संख्यामा केही कमी आए पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेको लुकाउने प्रवृत्तिका कारण समयमा उपचार नपाउँदा समस्या झन जटिल हुने गरेको उहाँको भनाइ छ।

ढकालले कुष्ठरोगको शंका लागेमा लुकाउनुभन्दा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन सबैलाई आग्रह गर्नुभयो। चिकित्सकका अनुसार चिकित्सकीय सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन सक्ने रोग हो। समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट समेत जोगिन सकिने बताइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगको औषधि नेपालभरिका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा निःशुल्क उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *