कपिलवस्तुमा रास्वपा र प्रलोपा विच चुनावी सहमति , अन्य दललाई धक्का

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु माघ १३ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कपिलवस्तु जिल्लामा चुनावी सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ ।

दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै सुशासन, पारदर्शिता, लोकतान्त्रिक मूल्य–मान्यता र जनउत्तरदायी राजनीतिक व्यवस्थाको आवश्यकता बढ्दै गएको वर्तमान अवस्थामा यो सहकार्य महत्वपूर्ण हुने बताएका छन् । विज्ञप्तिमा लामो समयदेखि जनतामा देखिँदै आएको राजनीतिक निराशा र अविश्वासलाई चिर्दै नयाँ राजनीतिक संस्कार स्थापना गर्ने साझा उद्देश्यका साथ सहकार्य अघि बढाइएको उल्लेख छ ।

सहमति अनुसार प्रतिनिधि सभा निर्वाचनको क्रममा दुवै पार्टीबीच निर्वाचन अभियान, जनसम्पर्क, संगठन परिचालन तथा मतदातासँग प्रत्यक्ष संवादमा सहकार्य गरिनेछ । प्रगतिशील लोकतान्त्रिक पार्टीले औपचारिक रूपमा रास्वपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई पार्टीले यो सहकार्य केवल निर्वाचन केन्द्रित नभई कपिलवस्तु जिल्लाको समग्र विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार तथा सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइएको दाबी गरेका छन् । सहमतिले कपिलवस्तुका जनताको चाहना र अपेक्षालाई संसदसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको छ ।

विज्ञप्तिमा दुवै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई पार्टीगत सीमाभन्दा माथि उठेर रास्वपाका उम्मेदवारहरूलाई विजयी बनाउन एकजुट भएर लाग्न अपिल गरिएको छ । साथै, शान्तिपूर्ण निर्वाचन प्रक्रिया, लोकतान्त्रिक मूल्य र जनमतको सम्मानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त विज्ञप्तिमा प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कपिलवस्तुका प्रमुख राम निवास पुरी, राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विभागका केन्द्रीय सदस्य मिर्जा रशिद बेग तथा रास्वपा कपिलवस्तुका जिल्ला सभापति शिवकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *