शुद्धोधनमा आयोजित सडक सभालाई सम्बोधन गर्दै कुँवरले कपिलवस्तुका किसान र ज्याला मजदुर न्यून पारिश्रमिकका कारण मारमा परेको बताए । “दिनभर काम गरेर ४-५ सय रुपैयाँ पाउने अवस्था छ । ५-६ सय रुपैयाँमा परिवार धान्न सकिँदैन । यो मजदुरमाथिको अन्याय हो,” उनले भने, “मैले जितेपछि ज्याला वृद्धि र कार्यान्वयन सुनिश्चित गर्न अनुगमन संयन्त्र बनाउनेछु । जहाँ काम गरे पनि मजदुरले न्यूनतम पारिश्रमिक नपाउने अवस्था अन्त्य गरिनेछ ।”
उनले श्रमिकको सम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै कपिलवस्तुमा सिँचाइ अभावका कारण धेरै खेत बाँझो रहेको उल्लेख गरे । बोरिङ, ट्युबेल लगायतका माध्यमबाट सिँचाइ सुविधा विस्तार गर्ने आफ्नो अठोट रहेको उनको भनाइ थियो । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफूले आवश्यक परे व्यक्तिगत सम्पत्तिसमेत प्रयोग गर्ने उनले दाबी गरे ।यसैबीच, वाणगंगा नगरपालिका-४ स्थित बुद्ध रंगशालाबाट सुरु भएको र्यालीमा क्षेत्र नम्बर १ का विभिन्न स्थानबाट हजारौं समर्थकको सहभागिता रहेको थियो । र्याली चार नम्बर चोक, गजेहडा, ओदारी, जहदी, पकडी, लबनी र कोरियाचोक हुँदै प्रगतिनगर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीभरि ‘विकास, सेवा र समृद्धिको प्रतीक तारा चिन्ह’ का नारा गुञ्जिएका थिए । सहभागीहरूले पार्टीका झण्डा तथा ब्यानरसहित उत्साहपूर्ण सहभागिता जनाएका थिए ।कोणसभामा कुँवरले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार आफ्नो प्राथमिकता रहेको बताए । विगतमा अधुरा रहेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे । “अब कपिलवस्तु–१ मा परिवर्तनको आवश्यकता छ। जनताको विश्वासलाई सम्मान गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिन्छु,” उनले भने ।कार्यक्रममा पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव) ले पनि सम्बोधन गर्दै कुँवर विकासप्रेमी र इमानदार उम्मेदवार भएको दाबी गरे । क्षेत्रको दिगो विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले मतदातालाई एकताबद्ध हुन आग्रह गरे ।कपिलवस्तु–१ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरूले घरदैलो, सभा तथा र्यालीमार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन् । फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै चुनावी गतिविधि दिनप्रतिदिन बढ्दै गएको छ भने मतदाताको चासोसमेत उल्लेखनीय रूपमा बढेको देखिन्छ ।