वाणगंगा । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरीले जनताले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्याक्त्त गर्नु भएको छ।
उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ तथा कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नु भएको हो। भेटघाटका क्रममा उहाँले स्थानीयवासीका समस्या, आवश्यकता र विकाससम्बन्धी सुझावहरू संकलन गर्नुका साथै आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गर्नुभयो।
नेकपा एमाले का जनप्रिय नेता तथा संविधानसभा सदस्य समेत रहनु भएका चौधरीले स्थानीय समुदायसँग प्रत्यक्ष सरसल्लाह गर्दै जनआशीर्वाद ग्रहणसहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लैजानु भएको छ। उहाँले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास र सहभागिताबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने बताउनु भयो ।
संयुक्त रूपमा गरिएको यस भेटघाट तथा संवाद कार्यक्रमले स्थानीय विकास, जनस्वास्थ्य, शिक्षा, पूर्वाधार र समग्र समृद्धिका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूले बताएका छन्। भेटघाटका क्रममा स्थानीय नागरिकहरूले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी तथा कृषिसम्बन्धी समस्या र आवश्यकता खुला रूपमा राखेका थिए ।
उम्मेदवार चौधरीले नागरिकहरूले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। जनतासँग प्रत्यक्ष संवाद र सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढाइएको यो अभियानले आगामी निर्वाचनमा नेकपा (एमाले) प्रति जनविश्वास अझ सुदृढ र मजबुत बनाउने विश्वास लिइएको छ ।

