प्रतिनिधि सभा निर्वाचनः अर्घाखाँचीमा ३ जनाको मात्र जमानत फिर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची  । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवार बनेका ३ जनाको मात्र जमानत फिर्ता हुने भएको छ । १२ जना अर्थात् ८० प्रतिशत  उम्मेदवारहरूको जमानत जफत भएको हो ।

निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न दल तथा स्वतन्त्र गरि १५ जनाले उम्मेदवारी दिएका थिए ।

१ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकामा ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष गरि प्रत्यक्षतर्फ ८६ हजार ५ सय २६ मत खसेको थियो । जसमा ८३ हजार ३ सय ६ मत सदर भएको थियो । यो तथ्याङ्क अनुसार ८ हजार ३ सय ३० भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको छ ।

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल ३५ हजार २३ मतले विजयी हुँदा नेकपा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मत र नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९८३ मत प्राप्त गरे भने अन्य १२ उम्मेदवारले जमानत सम्म जोगाउन सकेनन् ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत मात्रै प्राप्त गर्न सके । सोही कारण उनको जमानत जफत भएको छ ।

यस्तै एक हजार ८०९ मत पाएका राष्ट्रिय जनमोर्चाका पशुपति नाथ ढकाल, ४ सय ५९ मत पाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खिम बहादुर घर्ती मगर, २ सय ४४ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका झबिन्द्र फुल्लेलको जमानत जफत भयो ।

यस्तै ८ जना उम्मेदवारले त एक सय मत पनि कटाएनन् । ९४ मत पाएका नेशनल रिपब्लिक नेपालका विष्णु बहादुर गाहा, ४४ मत पाएका आम जनता पार्टीका दुर्ग बहादुर भाट क्षेत्री, ४० मत पाएका मंगोल नेशनल अर्गनाइजेसनका सुर्य बहादुर गुरुङ्ग, ४० मत पाएका जनता समाजवादी पार्टीका टुक बहादुर चेवाली, २८ मत पाएका प्रगतिशील लोकतान्त्रिक पार्टीका पुस्कर नाथ आचार्य, २२ मत पाएका स्वतन्त्र उम्मेदवार रवि शाह, २१ मत पाएका स्वतन्त्र उम्मेदवार हिमाल भुसाल र ३ मत पाएका स्वतन्त्र उम्मेदवार पम्फा श्रेष्ठको जमानत जफत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *