पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं: सभापति लामिछाने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो।

यसतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले आज फेसबुकमा लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं।’

उनले आ-आफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई रहेको उल्लेख गर्दै यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका बताएका छन्।

‘तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास-कूटनीति र अर्थ-राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौं,’ उनले भनेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ।’

उनले ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ’ पनि भनेका छन्।

‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन। यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौं,’ उनले भनेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *