कपिलवस्तु आएका प्रहरी महानिरीक्षक कार्कीद्वारा गुरुकुलका बटुकलाई खाद्यान्न सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा बाणगंगा नगरपालिका–२ स्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुल, कैलास आश्रम नन्दनगरमा अध्ययनरत बटुकहरूका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ।

खाद्यान्न सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोगले गुरुकुलमा अध्ययनरत बटुकहरूको शैक्षिक गतिविधि तथा दैनिक जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संस्कृत शिक्षा, गुरुकुल परम्परा तथा नैतिक शिक्षाले समाजलाई सुसंस्कृत र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गुरुकुलमा अध्ययनरत बटुकहरू भविष्यका संस्कारयुक्त नागरिक भएको उल्लेख गर्दै यस्ता शैक्षिक संस्थाको संरक्षण र प्रवर्द्धनमा राज्य तथा समाजले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कार्कीले गुरुकुल परिसरमा श्रीखण्डको वृक्षारोपण समेत गर्नुभयो। वृक्षारोपण गर्दै उहाँले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै धार्मिक तथा शैक्षिक संस्थाहरूले हरियाली प्रवर्द्धनमा अग्रसरता लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख, गुरुकुल व्यवस्थापन समिति, गुरुजन, बटुकहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गुरुकुल व्यवस्थापन पक्षले नेपाल प्रहरीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले संस्कृत शिक्षा र गुरुकुल परम्पराको संरक्षणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *