सरिता थारु, कपिलवस्तु । बाणगङ्गा नगरपालिका–६ लक्ष्मणघाटका युवाहरूले शारीरिक रूपमा असक्त एक युवालाई सहयोगका लागि हात अघि बढाएका छन्। लक्ष्मणघाट निवासी ३१ वर्षीय प्रकाश घिमिरेलाई स्थानीय युवाहरूले नगद रू. ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।
सो सहयोग रकम वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले एक कार्यक्रमका बीच घिमिरेका परिवारलाई हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष टण्डनले युवाहरूले समाजमा सहयोग र मानवीय भावना प्रकट गर्दै गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्न आग्रह गर्दै आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहले भन्नुभयो “युवाहरूले खेलकुदमार्फत समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन्। प्रकाश जस्ता असक्त युवाको उपचारमा सानो सहयोगले पनि ठूलो आशा जगाउँछ।” सहयोग रकम गत दशैं–तिहारको अवसरमा आयोजना गरिएको वडा स्तरीय क्रिकेट प्रतियोगिताबाट बचेको रकमबाट उपलब्ध गराइएको खेल संयोजक बिरेन्द्र रेग्मीले जानकारी दिनुभयो।
उपचार पछी घिमिरेको स्वस्थ्य अवस्थामा सुधार हुदै आएको छ । तर आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या देखिएकोले नगद रकम सहयोग गरेको रेग्मीले बताउनु भयो । साथै उहाँले घिमिरेको उपचारको लागि सबैलाई आफु सक्दो सहयोग गरिदिनु हुन सम्पुर्णमा अनुरोध समेत गर्नु भयो । प्रकाश घिमिरे २०८० साल असार २२ गते खेतमा मलफाल्ने क्रममा मलको बोराले च्यापियर मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।
तत्पश्चात उनको शरीर प्यारालाइसिस (अर्धाङ्गघात) भएको हो। उनी हाल निरन्तर उपचारमा रहेका छन् । उनका पिता रामप्रसाद घिमिरेले युवाहरूले गरेको सहयोगले परिवारलाई ठूलो राहत पुगेको बताउँदै थप सहयोगका लागि पनि समाजका सहयोगी मनहरूसँग अपिल गर्नुभयो। कार्यक्रममा लक्ष्मणघाटका सक्रिय युवा केशव गिरि, गोपाल पन्थी, जिवन काउचा, सरिता थारु, अनिता चौधरी, साबित्रा थारु, कमला थारु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


