कपिलवस्तु । बाणगंगा नगरपालिका–१ का स्थानीयवासीले अबदेखि सहज, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन् । लामो समयदेखि जीर्ण अवस्थामा बैरियामा रहेको वडा कार्यालयलाई विस्थापन गर्दै चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सोमबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन संविधान सभा सदस्य अत्तहर कमाल मुसलमान र नगरप्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा गर्नुभएको हो ।
सो क्रममा प्रमुख अतिथि मुसलमानले धेरै वर्षदेखि असहज संरचनाबाट सेवा लिंदै आएका वडावासीका लागि आधुनिक र व्यवस्थित भवन निर्माण हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले स्थानीय सरकार आएपछि विकास निर्माणका काम प्रत्यक्ष अनुभूति हुने गरी अघि बढेको उल्लेख गर्दै सेवा प्रवाह अझ प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अर्यालले सुविधा सम्पन्न भवन सञ्चालनमा आएपछि वडा–१ का नागरिकले अझ छिटोछरितो, पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधुनिक संरचना निर्माणसँगै सेवा गुणस्तर सुधारको नयाँ आधार तयार भएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरीले नयाँ भवनले सेवाग्राही तथा कर्मचारी दुवैलाई सहज वातावरण प्रदान गर्ने बताउनुभयो । उहाँले नयाँ संरचनाले वडाका जनप्रतिनिधि र कर्मचारीलाई पनि थप उत्साहका साथ काम गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार कम्पाउण्डसहित करिब १ करोड २ लाख लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो । बाणगंगाका सबै ११ वटै वडा कार्यालयलाई अपाङ्गमैत्री, प्रविधिमैत्री र गुणस्तरीय बनाउने लक्ष्यअनुसार काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।


कार्यवाहक वडाध्यक्ष लक्ष्मी बहादुर खत्रीले जीर्ण अवस्थाबाट सेवा प्रवाह गर्नुपरेको विगतको चुनौती अब अन्त्य भएको बताउँदै अत्याधुनिक भवनबाट गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्न वडा प्रतिबद्ध रहेको बताउनुभयो ।
वडा सचिव पुस्कर भुसालले बैरियास्थित पुरानो भवनमा स्थान अभावका कारण सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधि सबैले कठिनाइ सहनुपरेको उल्लेख गर्दै नयाँ भवनले ती सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवमन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, समाजसेवी डोलकराम घिमिरे लगायतले सेवाग्राहीले अब सेवा प्राप्त गर्न थप सहज हुने भन्दै सुविधासम्पन्न सेवाको नयाँ अध्याय’ सुरु भएको बताउनुभएको छ ।
नवनिर्मित वडा कार्यालय उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी तथा वडावासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।


